Logo

१ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरदेखि पटेलनगरसम्मको सडक निर्माणका लागि घरटहरा भत्काउँदा वडा अध्यक्षले पक्षपात गरेको स्थानीयले गुनासो गरेका छन् ।

परवानीपुर चोकदेखि पटेलनगरसम्मको सडक स्तरोन्नतीका लागि बाटो क्लियर गर्ने क्रममा सडकमा पर्ने स्थानीयको घरटहराहरु जबरजस्ती महानगरपालिकाको डोजर लगाएर वडा अध्यक्षले भत्काई दिएको उनीहरुको आरोप छ ।

वीरगञ्ज महानगरपालिकाले सडकमा पर्ने घरटहराहरु खाली गर्न स्थानीयलाई आग्रह गरेपछि स्थानीयले नापी गरेर सडक निकाल्न आग्रह गरेका थिए ।

महानगरपालिकाबाट अमिन सहितको टोलीले नापी गर्दा स्थानीयलाई चित्त नबुझेपछि नापी कार्यालयको अमिन ल्याएर नापी गरि नक्शांकन गरेर मात्रै घरटहरा खाली गर्न स्थानीयहरुले छलफल गरिरहँदा महानगरको प्रहरी र डोजर सहितको टोली गएर घर टहराहरु भत्काई दिएको स्थानीय सुनिल मण्डलले बताए ।

नापी गरेपछि सडकमा पर्ने घर टहरा खाली गर्न तयार रहेपनि वडा अध्यक्ष र महानगरले डोजर र नगर प्रहरी सहित गएर बल प्रयोग गरेर संरचना भत्काई दिएको मण्डलको आरोप छ ।

वडा अध्यक्ष राधाकृष्ण रौनियारले भने आफूले कुनै किमिसको पक्षपात नगरेको बताए । उनले परवानीपुर बजार र पटेलनगर दुवैतर्फबाट सडक विस्तार हुदै आएको र बीचमा एकसय मिटरजति स्थानीयको अवरोधले निर्माण गर्न नपाएपछि ठेकेदार समेत भाग्ने अवस्था रहको भन्दै पूरानो नापी अनुसार सडकमा पर्ने घरटहरा मात्रै भत्काएको दावी गरे ।

उनले सडकमा पर्ने घरटहराहरु आफैले भत्काउन थालेको भएपनि दुईतीन घरमा भने विवाद भएको दावी गरे । आज महानगर प्रहरी सहित डोजर लिएर गएको महानगरको टोलीलाई रोक्न खोज्ने सातजना स्थानीय पक्राउ पनि परेका थिए । उनीहरु अहिले रिहा भईसकेका छन् ।

 


सम्बन्धित समाचार