Logo

१ जेठ,पर्सागढि । तराईमा बढेको अत्यधिक गर्मीका कारण पर्साको ग्रामीण भेगमा माछापालनका लागि खनिएका पोखरी तथा तलाउहरू सुक्न थालेका छन्। दिनानुदिन बढ्दो तापक्रम र पानीको स्रोत नहुँदा पोखरीहरूमा पानीको सतह घट्दै गएको छ, जसले गर्दा माछापालक किसानहरू चिन्तित बनेका छन्।

पर्सागढी नगरपालिका वडा नम्बर ३ का माछापालक किसान भुलन खा थारुका अनुसार गर्मीका कारण पोखरीको पानी सुक्दै गएको छ। पानी कम हुँदा तापक्रम बढ्ने र अक्सिजनको कमीले पोखरीमा रहेका माछाहरू मर्न थालेका छन्।

थारुले बताए अनुसार पानीको वैकल्पिक व्यवस्था नहुँदा उनका दुईवटा पोखरी दुई साताभित्रै सुकेका छन्, जसले गर्दा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ। उनले स्थानीय सरकारसँग कृषि कार्यअन्तर्गत माछा पोखरी खनेका किसानहरूका लागि निःशुल्क रूपमा वैकल्पिक बोरिङको व्यवस्था गरिदिन आग्रह गरेका छन्।

अहिले अत्यधिक गर्मी बढेसँगै पर्साको ग्रामीण भेगमा सिँचाइको व्यवस्था नभएका दर्जनौं पोखरी तथा तलाउहरू सुक्न थालेका छन्। यसले स्थानीय माछापालक किसानहरूलाई माछा मर्ने चिन्ताले सताएको छ। किसानहरूले समयमै पानीको वैकल्पिक व्यवस्था नभए यस क्षेत्रको माछापालन व्यवसाय नै धरापमा पर्न सक्ने बताएका छन्।


सम्बन्धित समाचार