प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२ जेठ, बुटवल । कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट ज्यान गएको छ। गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पत्थरकोट–गोरुसिङ्गे सडकखण्डमा अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बीएबी ९५९९ नम्बरको कारले शुक्रबार बिहान पौने ६ बजे ती दुई महिलालाई ठक्कर दिएको थियो।

मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१ बसन्तपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझी रहेका छन्। इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलका अनुसार ठक्करपछि गम्भीर घाइते दुवै जनालाई जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो।

कार चालक रुपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार