Logo

२ जेठ, वीरगञ्ज । वीरगञ्जका उद्योगी तथा लेखक गणेश प्रसाद लाठको पुस्तक ‘सीमान्त सम्झना’ सार्वजनिक भईसकेको छ । देशको प्रमुख प्रेशद्वार आर्थिक तथा औद्योगिक नगरी वीरगञ्जमा बसेर उद्योग व्यावसाय क्षेत्रको नेतृत्व समेत गरिसकेका उद्योग लाठ पछिल्लो समय लेखक र साहित्यकारको रुपमा स्थापित हुदैछन् ।

उनको साहित्यक यात्रा निरन्तर अगाडि बढी रहेको छ । फुटकर रचनाहरु लेख्दै आएका लाठले पहिलो पुस्तक अनुराधा भवनबाट शुरु गरेका हुन् । अनुराधा भवनपछि उनको दोस्रो ‘छमिया’ तेस्रो ‘अघटित’, चौथो ‘क्षमादान’ र ‘सीमान्त सम्झना’ लेखक गणेश प्रसाद लाठको पछिल्लो कृति पाँचौं हो ।

यसको शुक्रबार वीरगञ्जमा पनि गृह विमोचन हुदैछ । यसअघि काठमाडौंमा विमोचन गरि सकिएको पुस्तकको वीरगञ्जमा गृह विमोचन गर्न लागिएको हो । नेपालय प्रकाशनले प्रकाशन गरेको पुस्तकको वीरगन्जमा नारायणी एफ.एम. रेसखबर अनलाईन र पाठशाला नेपाल संस्थाले संयुक्त रुपमा गृह विमोचन गर्न लागिएको नारायणी एफ.एम.का अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए ।

गणेश प्रसाद लाठद्वारा लिखित ‘सीमान्त सम्झना’ पुस्तक निकै रोचक र पठनीय पनि छ । २३ वटा शीर्षकमा विषयवस्तुहरुको फरक फरक अनुभव समेटिएको मानवीय जीवनसँग सम्बन्धित छन् । उनले सामाजिक, आर्थिक, भूगोल र भावनाको कुनै सीमा नबाँधि नै सम्झना गरेका छन् ।

उनको लेखन र प्रस्तुतीकरणले पुस्तकलाई थप पठनीय बनाएको छ । विभिन्न दार्शनिकहरुको भनाईबाट शुरु गरिएको पुस्तक सबै वर्गका लागि उपयोगी हुने अपेक्षा गरिएको छ । अतितदेखि वर्तमानसम्मका सबै अनुभव सहितको संगालो मात्रै होईन पुस्तकले विभिन्न क्षेत्रको विकास क्रम, घटना क्रमलाई आर्थिक, सामाजिक सम्बन्धसँग पनि जोडेका छन् ।

विगतको इतिहास, प्रविधिको विकास र वर्तमानको अवस्थासम्मको तुलना गरी सरल र मौलिक भाषामा स्थानीय स्तरका परम्परा, बोलीचाली र रहनसहन तथा चालचलनसम्मको प्रसँगलाई निकै चाखलाग्दो ढंगले विषयलाई प्रस्तुत गरेका छन् ।

वीरगञ्जको विगतको सम्झना मात्रै होईन इतिहास र वर्तमान पुस्ताका लागि एउटा दस्तावेजको रुपमा पनि पुस्तक ‘सीमान्त सम्झना’ उपयोगी हुनेछ । नेपाल, भारत, चीनको त्रीदेशीय सामाजिक र आर्थिक सम्बन्धसँग जोडिएका विषयवस्तुहरु पुस्तकमा समेटेका छन् ।

एकजना व्यावसायीले कम्युटरको हार्डडिक्समा जस्तो यति धेरै अनुभव र सम्झनाहरु बटुलेर एउटा पुस्तकमा सबै कुरा समेट्नु चानचुने विषय होईन । एउटा पुस्तकमा पूराना तस्वीर सहित समय परिवेश अनुसार भएका घटना र विकासक्रमलाई जोडेर पाठकहरुलाई सम्पूर्ण जानकारी दिने गरी ‘सीमान्त सम्झना’ बजारमा आएको छ ।

उनको पछिल्लो यो कृति पाठकहरुले रुचाउनेमा उनी विश्वस्त छन् । वीरगञ्जमा उद्योग व्यावसाय क्षेत्रका व्यक्ति साहित्य क्षेत्रमा पनि उदाउनु खुशीको कुरा भएको वीरगञ्जका बरिष्ठ पत्रकार इश्वरचन्द्र गौतम बताउछन्, ‘उनी भन्छन् । खुशी लाग्छ एकजना वीरगञ्जका व्यापारी साहित्य क्षेत्रमा आउनु राम्रो हो ।’


सम्बन्धित समाचार