२ जेठ, वीरगञ्ज । बारा जिल्लाको प्रसौनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट पार्टी (वाईसियल) को पालिका स्तरीय सम्मेलनबाट ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
पालिकाको वडा नं.–२ स्थित चटिया बाबा फिल्ड नजिक आयोजित पालिका स्तरीय दोस्रो सम्मेलनबाट ज्ञानेन्द्र दुवेको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको हो। कार्यक्रममा वाईसियल नेपाल बारा जिल्ला संयोजक शुभनारायण पटेल, प्रसौनी गाउँपालिकाका पूर्व इन्चार्ज वृजकिशोर कुशवाहा तथा प्रसौनीका पूर्व संयोजक राज गुप्ता ‘कवि’, सिकेन्द्र पासवान, धनसुन्दर लगायत अन्य नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा संगठनात्मक सुदृढीकरण, युवाहरूको भूमिकाको सशक्तिकरण तथा आगामी योजना र रणनीतिहरूका बारेमा विस्तृत छलफल भएको पनि थियो। सहभागीहरूले राष्ट्रिय राजनीतिक परिप्रेक्ष्यमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै सक्रिय सहभागिताको आह्वान गरेका थिए।

















