प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३ जेठ, नवलपरासी । देशका विभिन्न ठाउँमा आएको भीषण हावाहुरीका कारण रुख ढल्दा हिजो ३ जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा नवलपरासीका दुई र कैलालीका एक जना रहेका छन् ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ मा ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए। हावाहुरीसहितको वर्षाबाट जोगिन उनीहरू स्थानीय एक प्रतिक्षालयमा ओत लागिरहेका बेला त्यहीँमाथि रुख ढलेको थियो ।

उक्त घटनामा अन्य तीन जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि देवदह मेडिकल कलेजमा लगिएको छ ।

यस्तै, कैलाली जिल्लामा पनि हावाहुरीका कारण रुख ढल्दा लागेर एक जना शिक्षकको मृत्यु भएको छ । सुखडस्थित राष्ट्रिय कलेजका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

देशका विभिन्न स्थानमा आएको मौसमको यो विपद्ले जनधनमा क्षति पुर्‍याएको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। मौसमविद्हरूले केही दिन मौसम बदली रहने सम्भावना रहेकाले सुरक्षित स्थानमा बस्न र जरुरी नपरी घरबाहिर ननिस्कन सुझाव दिएका छन्।


सम्बन्धित समाचार