Logo

३ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा सडक विस्तारको कामलाई लिएर विवाद उत्पन्न भएको छ । महानगरपालिकाले सडक चौडा गर्ने कार्य सुरु गरेपछि स्थानीयले विरोध जनाउँदै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा उल्लेख भएअनुसार, वीरगञ्ज महानगरपालिकाले न्यूनतम मापदण्डअनुसार सडक चौडा गर्दा पुरानो सडकबाट नपुग भएमा दुवैतर्फबाट बराबर जग्गा लिनुपर्नेमा त्यसो नगरी एकतर्फीरुपमा उत्तरतर्फका स्थानीयको जग्गामा मात्रै क्षति पुर्‍याएको छ । स्थानीयले महानगरपालिकाका प्रमुख राजेशमान सिंह र वडा नम्बर २१ का वडा अध्यक्ष राधा कृष्ण साह रौनियारले कुनै जानकारी र सूचनाबिना नगर प्रहरी र डोजर लिएर आई बलजफ्ती घर भत्काउन थालेको आरोप लगाएका छन् ।

उनीहरुले थप आरोप लगाउँदै भनेका छन् कि विरोध गर्न गएका स्थानीयलाई नगर प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा समेत थुनेको छ । यस कार्यले टोलमा अशान्ति सिर्जना भएको उनीहरुको भनाइ  छ।

स्थानीयले न्यूनतम मापदण्ड अनुसार सडक विस्तार गर्दा दुवैतर्फबाट सहमतिमा जग्गा लिएर काम गर्नुपर्ने माग गरेका छन् । एकतर्फी दबाब र प्रभावमा परी गरिएको सडक विस्तारको काम न्यायोचित नभएको उनीहरुको ठहर छ ।

ज्ञापनपत्रमा माग सुनुवाई नभएमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं महानगरपालिका प्रमुख र वडा अध्यक्ष हुने चेतावनी दिइएको छ । स्थानीयले तत्काल नापजाँच र सहमतिबिना भइरहेको सडक निर्माण कार्य रोक्न माग गरेका छन् ।

यस विषयमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

स्थानीयले न्यायोचित समाधानको अपेक्षा गरे पनि जिल्ला प्रशासन कार्यालय पर्साले यस विषयमा के कदम चाल्छ भन्ने सबैको चासो रहेको छ ।


सम्बन्धित समाचार