३ जेठ,काठमाडौं । उत्तरी गाजा पट्टीमा इजरायली सेनाले गरेको पछिल्लो आक्रमणमा ठूलो संख्यामा हताहती भएको छ। गाजाको नागरिक सुरक्षा निकायले विगत १२ घण्टामा मात्रै कम्तीमा १०९ जनाको मृत्यु भएको पुष्टि गरेको छ। यस आक्रमणमा २१६ जना घाइते भएका छन्।
गाजा नागरिक सुरक्षाका प्रवक्ता महमुद बसालले उत्तरी गाजा पट्टीका लागि यो कठिन र रक्तपातपूर्ण दिन भएको बताएका छन्। प्यालेस्टिनी चिकित्सा स्रोतहरूका अनुसार मारिएकामध्ये अधिकांश महिला र बालबालिका रहेका छन्।
इजरायलले गत मार्च १८ मा गाजामा आफ्नो सैन्य कारबाही पुनः सुरु गरेको थियो। त्यसयता इजरायली हमलामा कम्तीमा २ हजार ९ सय ८५ प्यालेस्टिनी मारिएका छन् भने ८ हजार १ सय ७३ जना घाइते भएका छन्।
अक्टोबर २०२३ देखि इजरायल र हमासबीच जारी द्वन्द्वका कारण गाजामा मृत्यु हुने प्यालेस्टिनीको कुल संख्या ५३ हजार १ सय १९ पुगेको छ। यस अवधिमा १ लाख २० हजार २ सय १४ जना घाइते भएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।














