४ जेठ,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा आइतबार क्रिकेट मैदान निर्माण कार्यको शिलान्यास गरिएको छ। नेकपा एमालेका युवा नेता शिव पटेलले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन्।
बहुदरमाई नगरपालिका–२ पिपरास्थित तिलावे नदीको किनारमा रहेको बहुदरमाई मन्दिर नजिकको खेल मैदानलाई व्यवस्थित गर्न आज क्रिकेट मैदान निर्माण कार्यको शिलान्यास गरिएको हो। खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेश सरकारद्वारा विनियोजित २५ लाखको लागतमा निर्माण कार्य सुरु भएको हो।
मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवालको पहलमा सो कार्यको थालनी गरिएको नेता शिव पटेलले बताए। यस नयाँ सुविधाले यस क्षेत्रका क्रिकेटप्रेमीहरूलाई समर्पित स्थान प्रदान गर्ने र स्थानीय स्तरमा खेलकुदलाई बढावा दिने अपेक्षा गरिएको छ।

















