Logo

४ जेठ,काठमाडौं । अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको भीषण आँधीका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ। आँधीले दुवै राज्यमा ठूलो क्षति पु¥याएको छ भने दुई लाखभन्दा बढी मानिस विद्युत सेवाबाट वञ्चित भएका छन्।

केन्टुकीका गभर्नर यान्डी बेशरले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै केन्टुकीमा मात्रै १८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। यसैगरी, मिसौरीमा आँधीका कारण सात जनाले ज्यान गुमाएका छन्। अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।

केन्टुकीको दक्षिणपूर्वी क्षेत्र लरेल काउन्टीमा स्थानीय समयअनुसार शनिबार बिहान शक्तिशाली आँधी आएको थियो।

मिसौरीका अधिकारीहरूका अनुसार शुक्रबार आएको आँधीबेहरीले पाँच हजारभन्दा बढी भवनमा क्षति पुगेको छ। धेरै घरहरूको छाना उडाएको छ भने विद्युत आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ। सेन्ट लुइस सहरमा मात्रै करिब एक लाख घर विद्युत कटौतीका कारण प्रभावित भएका छन्।

आँधीले सबैभन्दा बढी प्रभाव पारेका क्षेत्रहरूमा अग्नि नियन्त्रण विभागका कर्मचारीहरू घरघरमा पुगेर निरीक्षण गरिरहेका छन्। क्षतिको पूर्ण विवरण आउन अझै समय लाग्ने बताइएको छ।


सम्बन्धित समाचार