४ जेठ,काठमाडौं ।मध्यपहाडी लोकमार्गकेन्द्रित माओवादी केन्द्रको जनअभियान कर्णाली प्रदेशमा प्रवेश गरेको छ। प्रवेशसँगै पहिलो कार्यक्रमका रूपमा दैलेखको राकम कर्णालीमा जनसंवाद सम्पन्न गरिएको ।
सुदूरपश्चिमको बैतडी पाटनबाट सुरू गरिएको अभियान अछाम हुँदै अछाम–दैलेखको कर्णाली पुल पार गरी कर्णाली प्रदेश प्रवेश गरेको हो । अभियान अन्तर्गत आइतबार दिउँसो १ बजे दैलेख सदरमुकाममा जनसभा गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
राकममा सम्पन्न जनसंवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले जनतासँगको सम्बन्ध सुदृढ गर्न, सुशासन प्रवद्र्धन गर्न र भ्रष्टाचारविरुद्ध आवश्यकता परे नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए ।
‘मध्यपहाडी क्षेत्रमा विकासबाट पछाडि परेका जनतालाई समेटेर समृद्धिको बाटो खोल्ने उद्देश्यले माओवादी केन्द्रले यो अभियान अघि सारेको हो । मध्यपहाडी लोकमार्ग केवल सडक सञ्जाल होइन, यो अभियान सामाजिक रूपान्तरणको अभियानसँग जोडिएको छ ।’
सरकारमा हुँदा माओवादी केन्द्रले सामाजिक न्याय र सुशासनका लागि भ्रष्टाचारविरुद्ध दृढताका साथ संघर्ष गरेको र अहिलेको अभियान त्यसै राजनीतिक संघर्षको निरन्तरता भएको उनले बताए ।
यो अभियान जनताको प्रत्यक्ष सहभागिता र भावनालाई आधार मानेर अघि बढाइएको उनले बताए । गरिब, किसान, मजदुर, उत्पीडित समुदाय, सहिद परिवार, बेपत्ता व्यक्तिका आफन्त, जनयुद्धका घाइते तथा अपांग नागरिकहरूसँग भेटघाट गर्दै अभियान अगाडि बढाइएको उनले बताए ।
कृषकहरूको मल र बीउको समस्या कसरी समाधान गर्ने, स्थानीय तहबाट समाजवाद निर्माणको पहल कसरी लिने, र स्थानीय अर्थतन्त्र कसरी मजबुत बनाउने भन्ने विषयमा माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय सरकारहरूलाई नीतिगत रूपमा काम गर्न निर्देशन दिइसकेको प्रचण्डको भनाइ छ ।
‘स्थानीयतालाई संरक्षण र प्रवद्र्धन गर्दै जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो । त्यसैले यो अभियानमा साथ दिन आम जनसमुदायलाई अपिल गर्दछु’, प्रचण्डले भने ।

















