प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

४ जेठ, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले विद्युत आपूर्ति नियमित गर्न माग गरेको छ । संघका अध्यक्ष हरि गौतमले आज एक विज्ञप्ति जारी गर्दै अघोषित लोडसेडिङ र गुणस्तरहित विद्युत आपूर्तिले औद्योगिक क्षेत्र प्रभावित भएको भन्दै यसको सुधारका लागि माग गरेको हो ।

नेपाल विद्युत प्राधिकरणले जारी राखेको अघोषित लोडसेडिङ र अनियमित तथा न्यून भोल्टेजको गुणस्तरहीन विद्युत आपूर्तिका कारण वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगहरू नराम्ररी प्रभावित भएको र उद्योगीहरूले प्राधिकरणको यो कार्यले उत्पादनमा कमी आएको र महँगो मेशिनरी उपकरणहरू बिग्रिएर ठूलो नोक्सानी बेहोर्नु परेको गुनासो गरेका छन् ।

अघोषित लोडसेडिङका कारण उद्योगहरूको उत्पादन क्षमता घटेको र विद्युत प्रवाहमा हुने निरन्तरको उतारचढाव र ट्रिपिङले औद्योगिक मेशिनरीहरू दैनिक रूपमा बिग्रिने गरेको छ । यसले उत्पादन लागत बढाएको छ भने अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता समेत गुम्दै गएको उद्योगीहरूको भनाइ छ ।

महँगो वैकल्पिक ऊर्जाको प्रयोग सबै उद्योगका लागि सम्भव नभएको उनीहरूले बताएका छन् । २०७५ सालमा औद्योगिक लोडसेडिङ अन्त्य भएको घोषणापछि उत्साहित भएका उद्योगीहरू पुनः ४–५ वर्ष नबित्दै पुरानै समस्या दोहोरिँदा थप चिन्तित भएका छन् ।

गुणस्तरीय विद्युत आपूर्तिको अभावमा मेशिनरी उपकरणहरू बिग्रिँदा मर्मत खर्च बढेको र कच्चा पदार्थ खेर गएको छ र उत्पादनमा समेत कमी आएको छ । यसले उद्योगहरूलाई रुग्णतातिर धकेलिरहेको उद्योगीहरूले बताएका छन् ।

उद्योगीहरूले विद्यमान विद्युत आपूर्तिको अवस्थालाई ध्यानमा राखेर लोड व्यवस्थापन गरी नियमित र गुणस्तरीय विद्युत आपूर्ति व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणसँग माग गरेका छन् । उनीहरूले यस्तो समस्या तत्काल समाधान नगरिए उद्योगहरू धराशायी हुने चेतावनी दिएका छन् ।


सम्बन्धित समाचार