४ जेठ, वीरगञ्ज । भारतमा फर्जी कागजात प्रयोग गरेर जारी गरिएका मोवाईल सिम कार्डहरू नेपाल र पाकिस्तानमा प्रयोग भइरहेको भारतीय सुरक्षा एजेन्सीहरुले बताएका छन् ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार उत्तर प्रदेश आतंकवाद विरोधी दस्ते (यूपी एटीएस) ले ठगी तथा आपराधिक गतिविधिमा प्रयोग हुने फर्जी कागजातमार्फत सिम कार्ड विक्री गर्ने गिरोह फेला पारेको युपी एटीएसले जनाएको छ ।
यूपी एटीएसको अनुसन्धानमा आधारित प्रारम्भिक विवरणअनुसार, फर्जी सिमहरू नेपाल टेलिकम तथा अन्य विदेशी नेटवर्कमा रोमिङु मार्फत प्रयोगमा रहेको बताइएको छ ।
अनुसन्धानकर्ताहरूको भनाइमा, ती सिमहरूलाई अन्तर्राष्ट्रिय सीमापार आपराधिक नेटवर्क, जस्तै आतंकवादी समूह, अवैध कारोबार, वा साइबर ठगीका गतिविधिमा प्रयोग गरिएको हुन सक्ने भारतीय प्रहरीको भनाई छ ।
फर्जी आइडीबाट हजारौं सिम प्रयोगमा
यूपी एटीएसले हालै गरेको कारबाहीमा पत्ता लागेको तथ्य अनुसार, विभिन्न टेलिकम सेवा प्रदायकहरूको नाममा हजारौं सिम कार्डहरू फर्जी आधार कार्ड र अन्य नक्कली कागजातहरू प्रयोग गरी प्रयोगमा ल्याइएको छ । ती सिमहरूलाई भारत बाहिर प्रयोग गरी सुरक्षामा चुनौती निम्त्याइने खालका गतिविधिमा संलग्न गिरोह सक्रिय रहेको भारतीय प्रहरीको भनाई छ ।
नेपालमा पनि प्रयोग, एनटीसीको नेटवर्कमा भेटियो भारतीय नम्बर
उक्त सिमहरू मध्ये केही नेपाल टेलिकम (एनटीसी)को नेटवर्कमा प्रयोग भइरहेको प्रमाण भेटिएको बताइएको छ । यसले भारत–नेपाल सीमावर्ती क्षेत्रमा हुने सिम तस्करी र मोबाइल दूरसञ्चार प्रणालीको दुरुपयोग प्रति गम्भीर चिन्ता पैदा गराएको भारतीय सुरक्षा निकायको भनाई छ ।
नेपालमा प्रयोग भइरहेका भारतीय मोबाइल नम्बरहरूको प्रयोग नेपालको साइबर सुरक्षाका लागि समेत खतरा बन्न सक्ने विज्ञहरू बताउँछन् ।
साइबर सुरक्षा र सीमा पार समन्वयको खाँचो
एटीएसले भारतका अन्य सुरक्षासंस्थासँग समन्वय गर्दै थप अनुसन्धान अघि बढाएको छ। यस घटनाले सीमा पार सञ्चार माध्यमको नियमन, दुरुपयोग नियन्त्रण, र डिजिटल प्रमाणीकरण प्रणालीमा सुधार आवश्यक रहेको देखाएको छ।
नेपाल र भारतबीच खुला सिमानाका कारण सिम कार्ड तथा मोबाइल प्रविधिको दुरुपयोग नियन्त्रणमा कठिनाइ भइरहेको छ। यस्ता घटनाहरू रोक्न दुवै देशका सुरक्षा निकायबीच तत्काल सूचना आदानप्रदान र प्रविधि साझेदारी जरुरी देखिन्छ।
यस घटनाले फर्जी दस्तावेजको प्रयोग र सिम कार्डको अन्तर्राष्ट्रिय दुरुपयोग अब केवल आर्थिक ठगीको सवाल मात्र होइन, राष्ट्रिय सुरक्षासँग जोडिएको मुद्दा बन्न थालेको छ। नेपाल सरकार र सम्बन्धित निकायहरूले पनि यस्तो खालको अन्तर्राष्ट्रिय सिम दुरुपयोग प्रति सतर्क रहन आवश्यक छ।

















