४ जेठ,सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा समुदायमा मुख्य न्यायाधिवक्ता संवाद कार्यक्रम सम्पन्न भएको छ। मुख्य न्यायाधिवक्ताको कार्यालय मधेश प्रदेश जनकपुरधाम धनुषाको आयोजना तथा जिराभवानी गाउँपालिकाको कार्यालय र वीरगंज जेसिसको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतोले नेपालको वर्तमान संविधान र सम्पूर्ण कानून आम नागरिकद्वारा निर्माण गरिएको र सबै नागरिकलाई कानूनको दायरामा रहेर सेवा प्रवाह गर्नुपर्ने बताए ।
उनले कानूनमा तोकिएको नियमभन्दा बाहिर गएर गरिने कुनै पनि कार्य अपराध हुने भएकाले यसलाई पहिचान गर्न नागरिकले कानूनी जानकारी लिन आवश्यक रहेको बताए । समुदायमा हुने कतिपय गतिविधि कानूनविपरीत हुने र त्यस्ता गतिविधिहरूलाई कानूनी दायरामा ल्याई दोषीलाई सजाय दिलाउन नागरिकको दायित्व रहेको उनले भने ।
मुख्य न्यायाधिवक्ता महतोले संविधानमा उल्लेख भएका आपराधिक क्रियाकलाप जो कसैले गरे पनि अपराधी ठहरिने र कानूनबमोजिम कारबाही गर्ने न्यायालयको संवैधानिक अधिकार र दायित्व भएको स्पष्ट गरे। उनले समुदायमा विद्यमान बालविवाह, दाइजो प्रथा, महिला हिंसा, आपराधिक गतिविधि, छुवाछुत, भ्रष्टाचार र अनियमितता जस्ता घटनाहरूलाई लुकाउनु तथा घूस लिनु र दिनु पनि कानूनी रूपमा अपराध भएकोले त्यस्ता गतिविधिहरूलाई न्यायलयसम्म पु¥याउन आम नागरिकको कर्तव्य रहेको बताए ।
कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक, कर्मचारी, जनप्रतिनिधि र आम नागरिकले समुदायमा भइरहेका आपराधिक तथा भ्रष्टाचारजन्य गतिविधिहरू र न्यायालयले गर्ने न्याय प्रक्रियाबारे जिज्ञासा राखेका थिए। मुख्य न्यायाधिवक्ता कार्यालयका सुरेन्द्र कुमार महतो, सहायक न्यायाधिवक्ता मनोहर लम्साल, प्रदेश कानूनी सहायता अधिकृत दिव्या सिंह, उपेन्द्र साह, रुबी कुमारी मेहता, चन्द्रदिय गोइत, गोविन्द पंडीत, दिपेन्द्र तैथबार यादव र सत्यम झा लगायतले कार्यक्रममा सहजीकरण गरेका थियो।
मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतोको सभापतित्व तथा जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडाध्यक्षहरू रामशरण ख्वास थारु, महादेव महतो थारु, सुरज राय थारु र दारा सिंह राउत थारुको पनि सहभागिता रहेको थियो। जिराभवानी गाउँपालिका वडा नम्बर ३ मा रहेको विवाह मण्डपमा भएको कार्यक्रममा वीरगंज जेसिसका अध्यक्ष एवं जिराभवानी गाउँपालिकाका बोर्ड सदस्य सरोज चौरसियाले स्वागत मन्तव्य व्यक्त गरेका थियो।

















