५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटवार्ता भएको हो । भेटका अवसरमा नेपाल र युरोपियन युनियनबिचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको थियो । प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका चरण हुँदै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनका क्षेत्रमा गति लिएको जानकारी गराउनुभयोे ।
भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदूतहरूको उपस्थिति थियो । यही जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवादका लागि पहिलो पटक युरोपियन युनियनका यति धेरै राजदूतहरू एकै पटक नेपाल आएका हुन् ।उहाँले नेपालको समृद्धि र रोजगारी सृजनाका लागि लगानी विस्तार गर्न समेत आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण भई सम्बद्ध पक्षको परामर्शसमेतका आधारमा दुई आयोग गठन भएकाले अब काममा ढिलाइ नहुने विश्वास पनि व्यक्त गनुभयो ।
युरोपियन युनियनका राजदूतहरूले नेपालको आर्थिक–सामाजिक विकासका प्रयासमा साथ दिँदै शिक्षा, पूर्वाधार, स्वास्थ्य, हरित ऊर्जा, सूचना प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहयोगको निरन्तर हुने बताएका थिए । उनीहरूले नेपालले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा लान थालेकोमा खुसी व्यक्त गर्दै पीडितका मुद्दालाई केन्द्रमा राख्न आग्रह गरेका थिए ।















