Logo

५ जेठ,सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लाको नाम्खा गाउँपालिका– ६ को तिलगाउँमा लेदोसहितको पहिरोको जोखिममा रहेका बासिन्दाको तत्काल उद्धार र सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

हिमताल फुटेर पहिरो आएका कारण बस्ती जोखिममा परेको र पहिरोले खानेपानीको संरचना, बाटो तथा पुलमा क्षति पुगेकोमा प्रचण्डले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले ३३ जना स्थानीय नागरिक राहत र उद्धारको पर्खाइमा रहेको तर अहिलेसम्म सरकारको उपस्थिति नदेखिएको भन्दै ध्यानाकर्षण गराएका हुन्।

प्रचण्डले जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यान जानुपर्ने बताएका छन्। साथै, उनले हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई समेत निर्देशन दिएका छन्।

जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेको उल्लेख गर्दै प्रचण्डले वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन्।


सम्बन्धित समाचार