Logo

५ जेठ,म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा विद्यार्थी भर्ना नभएपछि दुई वटा आधारभूत विद्यालय बन्द भएका छन्। बेनी नगरपालिका–५ को माथिल्लो गाजनेस्थित जगन्नाथ आधारभूत विद्यालय र वडा नम्बर १० को ओखले आधारभूत विद्यालय नयाँ शैक्षिक सत्रमा विद्यार्थी नआएपछि बन्द भएका हुन्।

बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले दुवै विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि त्यहाँ कार्यरत शिक्षकहरूलाई नजिकैका अन्य विद्यालयमा व्यवस्थापन गरिएको जानकारी दिए।

उनका अनुसार, विद्यार्थी सङ्ख्या न्यून भएका कारण बन्द भएका जगन्नाथ र ओखले आधारभूत विद्यालयमा गत शैक्षिक सत्रमा कक्षा १ देखि ३ सम्मको कक्षा घटुवा गरी बाल कक्षा मात्र सञ्चालन गरिएको थियो। तर यस वर्ष बाल कक्षामा समेत विद्यार्थी नभएपछि विद्यालय बन्द गर्नुपरेको हो। गत वर्ष ओखले आधारभूतमा पाँच र जगन्नाथमा तीन जना विद्यार्थी अध्ययनरत थिए। नगरपालिकाले ओखलेका बालविकास सहयोगीलाई दीपक मावि र जगन्नाथका बालविकास सहयोगीलाई डिम्ब आधारभूत विद्यालयमा व्यवस्थापन गरेको छ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले ग्रामीण भेगका सामुदायिक विद्यालयमा सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटर लगायतका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएको बताए। कक्षा सञ्चालनका लागि आवश्यक विद्यार्थी सङ्ख्या नपुगेपछि शैक्षिक सत्र २०७९ मा ११ र २०८० मा सात वटा विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरिएको उनले जानकारी दिए।

नगर प्रमुख केसीले तीव्र बसाइँसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु र अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न नसक्नु जस्ता कारणले सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेको बताए। विषयगत शिक्षकको अभाव पनि सामुदायिक विद्यालयका लागि अर्को चुनौती रहेको उनको भनाइ छ।


सम्बन्धित समाचार