५ जेठ, वीरगञ्ज । वीरगन्जका दुवै भन्सार कार्यालयको वेभसाईटमा एक महिनादेखि समस्या देखिएको छ । भन्सार विभागकै वेभसाईट ह्याक भएपछि वीरगन्ज आईसीपी भन्सार र सुक्खा बन्दरगाह (ड्राईपोर्ट) भन्सार कार्यालयका वेभसाईटहरुमा समस्या देखिएको हो ।
दुवै भन्सार कार्यालयको वेभसाईट एकमहिनादेखि खुलेको छैन । नेपालको मुख्य राजस्व संकलन गर्ने नाकाका भन्सार कार्यालयहरुको वेभसाईट नखुल्दा पाउनुपर्ने सूचना र तथ्यांकहरुको जानकारी लिन समस्या हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।
भन्सार कार्यालयका अधिकारीहरुले भने भन्सार विभागको वेभसाईट मै समस्या भएर यहाँका दुवै भन्सार कार्यालयको वेभसाईटमा पनि समस्या आएको बताएका छन् । भन्सार विभागको वेभसाईट ह्याक भएको दुईतीन दिनमा रिकभरी भएपनि वीरगन्ज आईसीपी भन्सार कार्यालय र सुक्खा बन्दरगाह (ड्राईपोर्ट) भन्सार कार्यालयको वेभसाईट भने अझै रिकभर हुन सकेको छैन ।
वीरगन्ज आईसीपी भन्सार कार्यालयका भन्सार प्रशासक दीपक लामिछानेले विभागबाट नै भएको समस्या अब समाधान उन्मुख रहेको र चाडै वेभसाईट खुल्ने बताए ।
प्राविधिक समस्या भएपनि नेपालको राजस्व संकलनको मुख्य निकायको रुपमा रहेको भन्सार कार्यालयहरुको नै वेभसाईट एक महिनासम्म नखुल्दा आम नागरिकले भने यसको चासो र चिन्ता व्यक्त गर्न थालेका छन् ।

















