Logo

५ जेठ, काठमाडौं — नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको चर्चा तीव्र हुँदै गएको छ। सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बस्ने भनिएको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ति गर्न सक्ने चर्चा चलेको छ। तर कानुनी प्रक्रिया अनुसार अनिवार्य रहने गभर्नर सिफारिस समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन, जसले नियुक्तिप्रतिको चाँडोबाजी र प्रक्रियागत कमजोरीको संकेत गर्दछ।

सरकारी स्रोतका अनुसार गभर्नर नियुक्तिका लागि प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अर्थशास्त्री डा। विश्व पौडेललाई नियुक्त गर्ने सहमति बनेको बताइएको छ। यसअघि गभर्नरको रूपमा गुणाकर भट्टको नाम अघि सारिए पनि कांग्रेसभित्रैको असहमतिको कारण उनलाई अघि बढाउन सकेन। त्यसपछि देउवाले पौडेलको नाम अघि सारेको बुझिएको छ।

प्रक्रिया र कानुनी सन्देह

नेपाल राष्ट्र बैंक ऐन अनुसार गभर्नर नियुक्त गर्नुअघि सिफारिस समिति गठन हुनुका साथै समितिको बैठक बसेर निर्णय गर्नु अनिवार्य हुन्छ। तर यो समाचार तयार पार्दासम्म समिति न बैठक बसेको छ, न अर्थमन्त्रीको सचिवालयले प्रस्तावित नाम सदस्यहरूलाई जानकारी गराएको छ।

यदि मन्त्रिपरिषद् बैठकले आजै गभर्नर नियुक्त गर्ने निर्णय गर्छ भने, यो विधि विपरित हुने सम्भावना देखिन्छ। अर्थ मन्त्रालयकै स्रोतका अनुसार समितिको बैठक कहिले बस्ने भन्ने पनि टुंगो लागेको छैन। यसले प्रक्रियाभन्दा राजनीतिक सहमतिलाई प्राथमिकता दिइएको देखिन्छ।

राजनीतिक हस्तक्षेप र केन्द्रीय बैंकको स्वतन्त्रता

राष्ट्र बैंकको गभर्नर नियुक्ति केवल प्रशासनिक होइन, आर्थिक नीतिगत निर्णयसमेत हो। यस्तो संवेदनशील पदमा राजनीतिक सहमतिका भरमा नियुक्ति हुनुले केन्द्रीय बैंकको संस्थागत स्वतन्त्रता र पेशागत निष्पक्षता माथि प्रश्न उठाएको छ।

केही विश्लेषकहरू भन्छन् — “यदि गभर्नरको नियुक्ति राजनीतिक बार्गेनको माध्यम बन्न थाल्यो भने केन्द्रीय बैंकको नीति निर्माण क्षमतामा राजनीतिक प्रभाव हावी हुनेछ। यसले दीर्घकालीन रूपमा अर्थतन्त्रलाई नै असर गर्न सक्छ।”

आजको मन्त्रिपरिषद् बैठकले के निर्णय गर्छ, त्यो हेर्न बाँकी छ। तर सिफारिस समिति नबसी गभर्नर नियुक्त भएमा, त्यो विधिको अपमान हुनेछ। राष्ट्र बैंक जस्तो संवैधानिक निकायको प्रमुख नियुक्ति प्रक्रियागत पारदर्शिता र निष्पक्षताका साथ हुनु लोकतान्त्रिक अभ्यासका लागि अनिवार्य मानिन्छ। अन्यथा, यस्तो अभ्यासले गलत नजिर बनाउने सम्भावना प्रबल हुन्छ।


सम्बन्धित समाचार