६ जेठ, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ। यी चारवटा वायुको सक्रियताले देशभर आंशिकदेखि सामान्य बदली भएको छ।
अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँहरूमा र बाँकी क्षेत्रका एक-दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना छ। मधेस प्रदेश र कोशी प्रदेशको तराई भेगका केही ठाउँमा हावाहुरी चल्न सक्ने सम्भावना छ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक(दुई ठाउँमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँहरूमा र बाँकी क्षेत्रका एक-दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले दैनिक जीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकोले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

















