६ जेठ, वीरगञ्ज । शिक्षा क्षेत्रमा एक महत्वपूर्ण पहिचान बनाउँदै गरेको फेम इन्स्टिच्युट मेडिकल इन्ट्रान्स प्रिपरेसन सेन्टर वीरगञ्जले आफ्नो स्थापनाको पाँचौं वर्ष पूरा गरेको छ। काठमाडौं उपत्यका बाहिरका विद्यार्थीहरूलाई गुणस्तरीय मेडिकल शिक्षाको तयारी आफ्नै ठाउँमा उपलब्ध गराउने उद्देश्यले स्थापित यो इन्स्टिच्युटले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ।
सन् २०२१ मा स्थापित यस संस्थाले हालसम्म दर्जनौं विद्यार्थीलाई प्रतिष्ठित स्वास्थ्य शिक्षाका विभिन्न क्षेत्रमा प्रवेश दिलाउन सफल भएको छ। फेम इन्स्टिच्युटका अनुसार, हालसम्म ३ जना विद्यार्थी एम.बी.बी.एस., ३ जना बी.एस.सी. नर्सिङ, र अन्य विद्यार्थीहरू बी.ओ.टी. तथा बी.एस.सी. केमिस्ट्री जस्ता विषयमा भर्ना भएका छन्। यसका साथै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका विभिन्न कार्यक्रमहरूमा पनि १० जना विद्यार्थीले सफलता पाएका छन्।
हाल इन्स्टिच्युटका प्रत्येक कक्षामा ३० देखि ३५ जना विद्यार्थी अध्ययनरत छन्, जसलाई अनुभवी र दक्ष शिक्षकहरूले अध्यापन गराइरहेका छन्। संस्थाको व्यवस्थापनमा संस्थापक अमित रौनियार, इन्चार्ज अमरेश कुमार यादव, शिक्षक डा.आशिष झा र लेखापाल गुडिया गुप्ताको सक्रियतामा संस्था सञ्चालित छ ।
संस्थापक अमित रौनियार स्थानीय स्तरमै गुणस्तरीय मेडिकल तयारीको वातावरण बनाउनु आफ्नो प्रमुख लक्ष्य रहेको बताउँछन्। उनले भने, “हामी आर्थिक तथा भौगोलिक कारणले काठमाडौं जान नसक्ने विद्यार्थीहरूलाई विरगञ्जमै बसेर चिकित्सा शिक्षाको तयारी गर्ने अवसर प्रदान गर्न चाहन्छौं।”
पाँच वर्षको सफल यात्रापछि फेम इन्स्टिच्युटले अब आफ्नो सेवालाई अझ विस्तार गर्ने योजना बनाएको छ। भविष्यमा विभिन्न नयाँ शैक्षिक कार्यक्रमहरू थप्ने र विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रमलाई अझ व्यापक बनाउने लक्ष्य संस्थाले लिएको छ।

















