६ जेठ,काठमाडौं । बजेट सार्वजनिक हुने पूर्वसन्ध्यामा सयौंको संख्यामा विद्युतीय गाडीहरू काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि आइपुगेका छन् । तातोपानी र रसुवागढी नाका हुँदै भित्र्याइएका यी गाडीहरू अन्तःशुल्क तथा भन्सार महसुल बढ्न सक्ने आशंकाबीच व्यवसायीहरूले पहिले नै आयात गरेका हुन् ।
पछिल्लो महिना वैशाखमा मात्र करिब १९ सय विद्युतीय गाडी आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । हाल बन्दरगाहमा आइपुगेका गाडीहरूमा ५१ देखि १०० किलोवाटका गाडीहरूको संख्या बढी रहेको बताइएको छ ।
सरकारले विद्युतीय गाडीमा भन्सार र अन्तःशुल्क कम गरेपछि नेपाली बजारमा ईभीको माग ह्वात्तै बढेको छ । नयाँ गाडी किन्ने मात्र नभई गाडी अपग्रेड गर्ने वा फेर्ने ग्राहकहरूको रोजाइमा पनि ईभी पर्न थालेको छ । बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीहरूले पनि धमाधम ईभी गाडी भित्र्याइरहेका छन् । नेपाली ईभी बजारमा खासगरी चिनियाँ र भारतीय कम्पनीहरूको वर्चस्व रहेको छ ।















