६ जेठ,काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी जेठ १५ गतेदेखि सुरु हुने पार्टीको आन्दोलन हिंसात्मक नहुने स्पष्ट पारेका छन्। मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले प्रदर्शनलाई पूर्ण नियन्त्रणमा राखिने र कुनै पनि प्रकारको हिंसात्मक गतिविधि हुन नदिने बताए।
सरकारलाई दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने भन्दै उनले मानवअधिकार आयोगका साथै अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई जेठ १५ गतेको प्रदर्शनको अनुगमन गर्न आग्रह गरिने जानकारी दिए। अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरू स्थापित गरिने र यसपटकको आन्दोलनलाई टुङ्गोमा पु¥याएरै छाड्ने दाबी गरे।
केही दिनअघि प्रधानमन्त्री केपी ओलीले संसदमा ’हामी त बुढो भयौं, तपाईं चाहिँ भाग्न मिल्छ’ भन्ने अभिव्यक्तिको जवाफ दिँदै लिङ्देनले सम्झौता गर्न तयार नभएकाहरूलाई ’हेलिकप्टर सुविधा’ दिने टिप्पणी गरे।
यसैबीच, राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको घर–घरमा गएर आन्दोलनका बारेमा जानकारी गराउने बताए। उनले अबको आन्दोलनको अग्रपंक्तिमा केन्द्रीय नेताहरू रहने भएकाले कुटाई खानुपरे अग्रभागमा रहेका नेताहरूले खाने बताए। थापाले अबको आन्दोलन शान्तिपूर्ण हुने भएकाले ढुक्क भएर प्रदर्शनमा सहभागी हुन आग्रह गरे। उनले जनताको उपस्थितिबाटै भ्रष्ट शासकहरूलाई पराजित गर्ने र आफ्ना एजेन्डा स्थापित गराएरै छाड्ने बताए।

















