६ जेठ,वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले वीरगञ्ज महानगरपालिका वडा नम्बर २ स्थित भकुवा नाकामा ठूलो परिमाणको लागुऔषध बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको गस्ती टोलीले ८१ हजार ४९० ट्याब्लेट लागूऔषध बरामद गरेको हो । सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहको टोलीलाई देख्नासाथ भारतबाट अवैध रूपमा टाउकोमा बोकेर नेपालतर्फ आइरहेका दुई जना व्यक्ति लागुऔषध छाडेर भागेका थिए ।
उक्त व्यक्तिहरूले बोकेको ट्रामोल ५० एमजी ट्रामाडोल हाईड्रोक्लोराईड नामक ८१ हजार ४९० ट्याब्लेट लागुऔषध बरामद गरिएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए ।
बरामद गरिएको लागुऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । फरार रहेका तस्करहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

















