Logo

६ जेठ,सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले नरहा गाउँपालिका–१, देविपुरस्थित शिद्धीक्षा पशुपालन तथा कृषि फर्मबाट करिब ३२ किलोग्राम अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

गत वैशाख ४ गते राति साढे ११ बजे संजय दासले भर्खरै सञ्चालनमा ल्याएको उक्त फर्ममा लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षक आकाश उप्रेतीको नेतृत्वमा खटिएको टोलीले छापा मारेको थियो।

स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा फर्मभित्र खानतलासी गर्दा दुईवटा प्लास्टिकको बोरामा लुकाएर राखिएको अवस्थामा १७.१५७ किलोग्राम र १४.६६३ किलोग्राम गरी कुल ३१ किलो ८२० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा फार्म सञ्चालक नरहा गाउँपालिका–१ बस्ने ३५ वर्षीय संजय दास, सोही ठाउँका ३१ वर्षीय रामशरण दास, र संजय दासका गाडी चालक बारा कलैया उपमहानगरपालिका–४ घर भई हाल नरहा गाउँपालिका–१ बस्ने २० वर्षीय धिरज महतो रहेका छन्। उनीहरूको साथबाट चार थान मोबाइल र गाँजाको बोरा सिलाउने एक थान मेसिनसमेत बरामद गरिएको छ।

पक्राउ परेका तीनै जनालाई सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जानकारी दिएको छ।


सम्बन्धित समाचार