Logo

६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक आव्ह्वान गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आज अपराह्न ४ बजेलाई बैठक आव्ह्वान गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफल सकिएलगत्तै समितिको संयोजक रहेका पौडेलले बैठक बोलाएका हुन् । सो समितिमा संयोजक पौडेलसहित निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री पोषराज पाण्डे सदस्य छन् । समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । सोमध्ये एक जनालाई मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर नियुक्त गर्नेछ ।

ओली र देउवाबीच आजै बालुवाटारमा छलफल भएको थियो । सो छलफलको बीचमा उपप्रधान एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । दुई प्रमुख सत्ता साझेदार दलहरूबीच यसअघि नै भावी गभर्नरमा अर्थविद् विश्व पौडेललाई नियुक्त गर्ने सहमति भइसकेको छ ।

सोही कारण अघिल्लोपटक गठन गरिएको सिफारिस समितिमा सदस्य रहेका पौडेलले राजीनामा दिएका थिए । त्यसपछि मन्त्रिपरिषद्ले सो समिति विघटन गरी अर्थमन्त्रीको संयोजकत्वमा अधिकारी र पाण्डेलाई सदस्य बनाउँदै पुनः गठन गरेको थियो ।


सम्बन्धित समाचार