६ जेठ,काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको लामो छलफलपछि सकेसम्म आजै प्रक्रिया पूरा गरी पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएको हो ।
ओली र देउवाले अर्थमन्त्री विष्णु पौडेल तथा गृहमन्त्री रमेश लेखकलाई समेत राखेर छलफल गरेका थिए ।सो छलफलकै बीचबाट अर्थमन्त्री पौडेलले गभर्नर सिफारिश समितिको बैठक बोलाएका छन् ।
अर्थमन्त्री पौडेलको नेतृत्वको सिफारिश समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् । सोमबार नै गभर्नर नियुक्त गर्ने तयारी भए पनि प्रधानमन्त्रीको अस्वस्थताका कारण रोकिएको थियो ।
कम्तीमा एक डेपुटी गभर्नरसहित ३ जनाको नाम सिफारिश गर्नुपर्ने कानूनी व्यवस्था छ ।
समितिको बैठकलगत्तै मन्त्रिपरिषद बैठक बस्नेछ । मन्त्रिपरिषद् बैठक साँझ ५ बजेका लागि बोलाइएको छ ।















