Logo

७ जेठ, काठमाडौं । मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्ने चर्चापछि सेयर बजार उच्च अंकले बढेको छ ।

आज साँझ ५ बजे बस्ने लामो समयसम्म किचलो देखिएको गभर्नर नियुक्तिमा प्रमुख सत्ता साझेदार दलहरुबीच सहमति भएसँगै आज सेयर बजार ४९ दशमलव ०९ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६७७ अंकमा कायम भएको छ । बजारको परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ ।

अघिल्लो दिन ७ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३१ करोडको भएको थियो । कुल २२९ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.४२ प्रतिशतले बढेको छ ।

बैंकिङ १.९१, विकास बैंक २.९५, फाइनान्स २.४४, हाइड्रोपावर २.४५, लगानी २.३३, जीवन बीमा १.३२, उत्पादन १.८९, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.७४, अन्य ०.८४ र व्यापार समूह १.४९ प्रतिशत बढेको छ । पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सिन्धु विकास, सप्तकोशी विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक र राप्ती हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो ।

यस्तै मातृभूमि लघुवित्तको ७.८३, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६.८८ तथा जोशी हाइड्रोपावरको ६.१४ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ३.०९ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर, सानिमा माइ हाइड्रोपावर, सोल्टी होटल क्रमशः अगाडि छन् ।


सम्बन्धित समाचार