६ जेठ,वीरगञ्ज । राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको अत्यधिक चाप बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राख्दै मिति २०८२ जेठ ६ गतेदेखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धी सेवा सार्वजनिक बिदाको दिन बाहेक प्रत्येक दिन बिहान ७ः३० बजेदेखि साँझ ७ः०० बजेसम्म सञ्चालन गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका छन्। उनले राष्ट्रिय परिचयपत्रको कार्ड वितरण सम्बन्धी कार्य भने प्रत्येक हप्ताको बिहीबार र शुक्रबार मात्र गरिने पनि स्पष्ट पारेका छन्।
यसअघि सेवाग्राहीको लामो लाइन र प्रतीक्षाका कारण भोग्नुपरेको असुविधालाई सम्बोधन गर्न यो निर्णय गरिएको कार्यालयले जनाएको छ।


















