६ जेठ,काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको बैठक भोलि (बुधबार) दिउँसो १ बजे जनमत पार्टीको केन्द्रीय कार्यालय, मध्य बानेश्वरमा बस्ने भएको छ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बैठकको अध्यक्षता गर्नेछन्।
जनमतका प्रवक्ता शरदसिंह यादवका अनुसार, बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संघीयता र लोकतान्त्रिक प्रक्रियामा देखिएका चुनौतीहरू, तथा मोर्चाको आगामी रणनीति र गतिविधिहरूबारे गहिरो छलफल हुनेछ।
मोर्चाको मूल उद्देश्य संविधानमा समेटिएका संघीय व्यवस्था, नागरिक अधिकार र समानताको सवालमा सरकारलाई जिम्मेवार बनाउने हो। पछिल्ला वर्षहरूमा प्रदेशहरूको अधिकार कटौती गर्ने प्रयास, दलहरूबीच बढ्दो असहिष्णुता र लोकतान्त्रिक अभ्यासमा आएको कमजोरीप्रति मोर्चाले चिन्ता व्यक्त गर्दै आएको छ।
प्रवक्ता यादवले बैठकमा प्रदेशहरूको सशक्तिकरण, नागरिक स्तरमा देखिएको असन्तोष, तथा स्थानीय तहका अधिकार संरक्षण लगायतका विषयहरूमा समेत विशेष छलफल हुने जानकारी दिए।















