Logo

६ जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका रास्वपा सभापति लामिछानेको हकमा उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाइ बुधबारका लागि सरेको हो।

मंगलबार सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिटको सुनुवाइ भएको थियो। सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो।

निकिता पौडेलले गत वैशाख ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रुपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुरको बुटवल इजलास, जिल्ला प्रहरी परिसर काठमाडौं, कारागार कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई विपक्षी बनाएर रिट दर्ता गराएकी थिइन्।

गत वैशाख ९ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो। अन्य ६ वटा इजलासले हेर्न नमिल्ने भएपछि मंगलबार न्यायाधीशद्वय डा. सुवेदी र ढकालको इजलासमा परेर सुनुवाइ भएको थियो।


सम्बन्धित समाचार