७ जेठ, पर्सागढी । पर्साको पटेर्वा सुगौली गाउँपालिका वार्ड नं.–५ निचुटामा रहेका तीनवटा संस्थाका प्रमुखमा श्री मधुकान्त चौधरी रहेको पाइएको छ। सामुदायिक विद्यालय, निजी विद्यालय र सामाजिक विकास संस्थाको प्रमुख पदमा रही आर्थिक कारोबारसमेत आफ्नै नामबाट चलाइरहेका चौधरीमाथि सम्बन्धित निकायले कुनै कारबाही नगरेको भन्दै प्रश्न उठेको छ।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटाका प्रधानाध्यापक मधुकान्त चौधरीले विद्यालयसँगै टाँसिएर ज्ञान उदय ईङ्गलिस बोर्डिङ्ग स्कुल सञ्चालन गरेका छन्। यति मात्र नभई, उहाँले गाउँमै रहेको समता समाज युवा क्लब निचुटाको अध्यक्षसमेत रही तीनवटै संस्थाको खाता आफ्नै नाममा शानिमा बैंक पटेर्वासुगौलीमा खोली आर्थिक कारोबार गर्दै आइरहेका छन्।
सामुदायिक विद्यालयको प्रधानाध्यापकले आफ्नै निजी विद्यालयसमेत खोलेर चलाउँदा र सामाजिक विकास संस्थाको समेत अध्यक्ष रही कार्य गर्दा पटकपटक प्रश्न उठ्दा पनि सरोकारवाला निकायहरू मौन देखिएका छन्। यसका साथै, आफ्नै निजी विद्यालयको कक्षा ५ पास विद्यार्थीलाई आफू प्रधानाध्यापक रहेको सामुदायिक विद्यालयको कक्षा ७ मा गैरकानुनी ढङ्गबाट भर्ना गरिरहेको आरोपसमेत चौधरीमाथि लागेको छ।
यस विषयमा प्रधानाध्यापक मधुकान्त चौधरीसँग बुझ्दा उनले मावि विद्यालय र समता विकास युवा क्लबको प्रमुख आफू रहेको र निजी बोर्डिङ्ग स्कुलको सञ्चालक आफू रहेता पनि प्रमुख नरहेको बताए। उनका अनुसार बोर्डिङ्ग स्कुलको सम्पूर्ण जिम्मेवारी आफ्नो बुवा राजदेव प्रसाद थारुको रहेको र आफ्नो नाममा आर्थिक कारोबारको खाता शानिमा बैंकमा रहेको बताए। उनकै भनाइबाट पनि तीनवटै संस्थाको प्रमुख उनी आफैँ रहेको पुष्टि हुन्छ। उनले थप भने, ‘नेपालमा जे पनि चल्छ, के गर्न मिल्छ के गर्न मिल्दैन अब सोचेर गर्ने । विद्यार्थी भर्ना नियमपूर्वक नै गरेको समेत उनले दाबी गरे।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्साका अधिकारी हरि राउतका अनुसार सरकारी विद्यालयका शिक्षकले निजी विद्यालय सञ्चालन गर्न नियमले नमिल्ने र त्यस्तो पाइएमा छानबिन गरी कारबाही गरिने बताए। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सामुदायिक विद्यालयको जिम्मेवारी पदमा रही निजी विद्यालय सञ्चालन गरेको र आर्थिक कारोबारसमेत गरेको पाइएमा उजुरीको आधारमा बुझेर कारबाही गरिने बताए।
पटेर्वासुगौली गाउँपालिकाका उपाध्यक्ष ममता चौधरीका अनुसार निचुटा माविका प्रधानाध्यापक मधुकान्त चौधरी एक वर्षअगाडि मात्र प्रधानाध्यापक भएको र निजी विद्यालय सञ्चालन आफैँ गरेको तथा सामाजिक संस्थाको समेत अध्यक्ष रहेको गुनासो अहिलेसम्म आफूकहाँ नआएको बताइन्।
पालिका अध्यक्ष तथा शिक्षा समिति अध्यक्ष दिनेश चौधरी बाहिर भएको हुनाले र यो समस्या स्वयं दिनेश चौधरीकै गाउँको भएको हुनाले उहाँ आउने बित्तिकै छलफल गरी नियम कानुन अनुसार गर्न लगाइने बताउनुभयो। यस विषयमा पालिकाका शिक्षा शाखा प्रमुख सोलेन्द्र पजियारसँग बुझ्न खोज्दा उनले प्रतिक्रिया दिन मानेनन्।
स्वयं पालिका प्रमुख दिनेश चौधरीकै गाउँमा एउटा व्यक्ति सरकारी विद्यालयदेखि निजी विद्यालयको प्रमुख हुँदा समेत कारबाही नहुँदा सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरमाथि प्रश्न उठेको छ।















