७ जेठ, इलाम । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २६ औं वार्षिकोत्सवको अवसरमा इलामको पर्यटकीय स्थल श्री अन्तुमा भव्य कार्यक्रमको आयोजना गरेको छ। संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता दिवस’ तथा ‘दोस्रो राष्ट्रिय भेला’ सँगै ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ वितरण समारोह पनि सम्पन्न गरेको हो।
चार दिने कार्यक्रम जेठ ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुँदैछ। पहिलो दिन सिनेमा संवाद र मिडियामा मन्थन शीर्षक अन्तर्गत विविध विषयमा बहस र छलफल गरिएको थियो। कार्यक्रममा नेपाली चलचित्र पत्रकारिता क्षेत्रमा विशेष योगदान पुर्याउने पत्रकारहरूलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गरिएको छ।
सम्मानित हुनेहरुमा ध्रुव लम्साल – राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२, विष्णु सुवेदी – राष्ट्रिय चलचित्र पत्रकारिता नरेन्द्र बस्नेत (कोशी), राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२, जीवन कुमार पराजुली – राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१, वर्षा बस्नेत – सशक्त चलचित्र पत्रकारिता पुरस्कार २०८१, रश्मी थापा – राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८१ र तुलसी प्रसाद निरौला (कोशी) मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८१ रहेका छन् ।
कार्यक्रममा चलचित्र पत्रकारिता क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाको विषयमा पनि विस्तृत छलफल भएको थियो। संघले आगामी दिनमा अझ सशक्त र गुणस्तरीय पत्रकारिताका लागि यस्ता कार्यक्रमलाई नियमित रुपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

















