Logo

७ जेठ, वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक सचेतना सम्बन्धी श्रव्यदृष्य प्रदर्शन गरेको छ । ट्राफिक नियम उल्लंघटन गरेर सवारी चलाएमा, मादक पदार्थ सेवन गरेर सवारी चलाएमा, लापरवाही गरेर सवारी चलाएमा हुने दुर्घटना सम्बन्धी जनचेतना जगाउने श्रव्यदृश्य वीरगन्जको घण्टाघरमा प्रदर्शन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको नियमित कार्यक्रम अनुसार सचेतनामूलक श्रव्यदृश्य देखाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले जानकारी दिए । उनका अनुसार कतिपय सवारी ट्राफिक नियमको विषयमा जानकारी नभएर दुर्घटना हुने गरेको कतिपय भने लापरवाहीपूर्ण सवारी चलाउँदा दुर्घटना हुने गरेकोले सर्वसाधारणको जानकारीका लागि श्रव्यदृश्य प्रदर्शन गरिएको हो ।

उनले ट्राफिक सम्बन्धी सचेतना जगाएमा दुर्घटना न्यूनीकरण र ट्राफिक व्यावस्थापनमा समेत सहज हुने बताए । उनका अनुसार गत आर्थिक बर्ष २०८०÷०८१ म पर्सामा सवारी दुर्घनाबाट ५४ जनाको मृत्यु भएको छ । चालू आर्थिक बर्षमा अहिलेसम्म सवारी दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ ।

सवारी दुर्घटना र मत्युदर घटाउनका लागि पनि ट्राफिक सचेतना आवश्यक रहेको प्रहरी निरीक्षक भट्टको भनाई छ । समृद्ध नेपाल फाउण्डेशन र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई, व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिपिलराज कार्की, समृद्ध नेपाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत शरण गुप्ता लगायत सर्वसाधारण र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
भर्खरै