८ जेठ,काठमाडौं । बुधबार साँझ उत्तर प्रदेशलगायत भारतका विभिन्न क्षेत्रमा आएको भीषण आँधीले व्यापक मात्रामा जनधनको क्षति पु¥याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बीबीसी हिन्दीका अनुसार, आँधीका कारण उत्तर प्रदेशमा मात्र कम्तीमा १४ जनाको ज्यान गएको छ । भारतको मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि उच्च सतर्कता (अलर्ट) जारी गरेको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत सम्बन्धित अधिकारीहरूलाई तत्काल उद्धार तथा राहत कार्यमा खटिन निर्देशन दिएको बताएको छ ।
बुधबारको आँधीबाट उत्तर प्रदेश मात्र नभई राजधानी दिल्लीका पनि धेरै क्षेत्र प्रभावित भएका छन् । दिल्लीका धेरै क्षेत्रमा रूखहरू ढलेर थुप्रै सवारीसाधनहरू क्षतिग्रस्त भएका छन्, जसका कारण धेरै क्षेत्रमा यातायात अवरुद्ध भएको छ र मेट्रो सेवा पनि प्रभावित भएको छ ।














