८ जेठ,काठमाडौं । संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावासका कर्मचारीलाई गोली हानी हत्या गरिएको छ । बीबीसीका अनुसार, हत्या गरिएकाहरूमा एक पुरुष र एक महिला छन् । उनीहरूलाई क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्कने क्रममा गोली हानी हत्या गरिएको हो ।
गोलीबारी स्थानीय समयअनुसार राति ९ बजे भएको थियो । घटनाको समयमा संग्रहालयमा धेरै इजरायली दूतावासका कर्मचारीहरू उपस्थित थिए ।
संयुक्त राष्ट्र संघका लागि इजरायलका राजदूतले उक्त घटनालाई “यहूदी विरोधी आतंकवादको घृणित कार्य“ भनेर वर्णन गरेका छन् ।
घटनापछि वासिङ्टन डीसीमा ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ र मुख्य सडकहरू बन्द गरिएका छन् । इजरायली दूतावासका प्रवक्ताले संग्रहालयको कार्यक्रममा भाग लिने क्रममा दुई कर्मचारीलाई नजिकैबाट गोली हानेर हत्या गरिएको पुष्टि गरेका छन् ।














