Logo

८ जेठ,जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले प्रदेशमा सञ्चारकर्मी तथा सञ्चार क्षेत्रको विकास र उत्थानका लागि सरकार गम्भीर रहेको बताएका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश सरकार सञ्चार क्षेत्रमा आवश्यक लगानी गर्न पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय र सार्वजनिक प्रसारण सेवा नेपालबीच भवन प्रयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा मुख्यमन्त्री सिंहले उक्त धारणा व्यक्त गरेका हुन् । उनले सरकारी मिडियाले नाफा–नोक्सानको आधारमा काम गर्नु नहुने बताउँदै यसले निजी सञ्चारमाध्यमलाई हतोत्साहित बनाउने काम गर्ने तर्क दिए ।

कार्यक्रममा मधेस प्रदेशका गृहमन्त्री राजकुमार लेखीले सरकारको तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरे । उनले यस सम्झौताले मधेस प्रदेशको सञ्चार क्षेत्रमा नयाँ ऊर्जा थपेको उल्लेख गर्दै भने, “अब नेपाल टेलिभिजन र रेडियो नेपालका प्रसारणहरू जनकपुरमै मन्त्रालयको भवनबाट सुरु हुन गइरहेका छन्, जुन हामी सबैका लागि गर्वको कुरा हो ।”

सम्झौताअनुसार, मधेस प्रदेश सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई जनकपुरमा आवश्यक भवन उपलब्ध गराउनेछ । यसको बदला स्वरूप, यी दुबै सरकारी सञ्चारमाध्यमले जनकपुरबाट आफ्ना सेवा औपचारिक रूपमा विस्तार गर्नेछन् ।

पुनः सुरु हुँदै ‘प्रदेश डायरी’

सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष महेन्द्र बिष्टले सम्झौता पश्चात ‘प्रदेश डायरी’ कार्यक्रम पुनः सुरु हुने जानकारी दिए । ३३ वर्षअघिदेखि प्रसारणमा रहेको उक्त कार्यक्रम केही वर्षयता बन्द रहेको थियो । बिष्टले यस सम्झौताबाट मधेसका सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई प्रत्यक्ष टेवा पुग्ने विश्वास व्यक्त गरे ।


सम्बन्धित समाचार
भर्खरै