९ जेठ,हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रमले तीव्रता पाएको छ। पछिल्लो समय चारवटा नयाँ उद्योग थपिएसँगै औद्योगिक उत्पादनमा थप वृद्धि भएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले दिएको जानकारीअनुसार, गत वैशाख महिनादेखि लक्की पोलि इन्डस्ट्रिजले प्लास्टिकका सामान र टोटल प्याकेजिङले प्लास्टिकको बोरा उत्पादन सुरु गरेका छन्। यस्तै, गत माघ महिनादेखि थ्रिस्टार ग्रुपले रंगीन तथा सादा कर्कटपाता र बाबा मेनिफ्याक्चरले टिनका बाकस बनाउन थालेका छन्।
निर्माणाधीन र पुनः सञ्चालनको तयारीमा
हाल औद्योगिक क्षेत्रमा १० वटा उद्योगका संरचना निर्माणाधीन अवस्थामा छन्, जसमध्ये अधिकांशको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि बन्द रहेका ६ वटा उद्योगमध्ये सुप्रिम मेटल उद्योगले फलामको काँटी उत्पादन पुनः सुरु गरेको सूचना अधिकारी नेपालले बताए।
विभिन्न कारणले बन्द रहेका अन्य पाँचवटा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सञ्चालकहरूसँग समन्वय भइरहेको छ। बन्द रहेकामध्ये डाइनेष्टी डिष्टलरी, ग्रिन गोल्ड इन्टरनेशनल प्रालि, साउथ एसियन पोलिपाइप प्रालि र बानियाँ मल्टि प्रोडक्ट प्रालि पुनः सञ्चालनको तयारीमा रहेको जानकारी सञ्चालकहरूबाट प्राप्त भएको छ।
हेटौँडा औद्योगिक क्षेत्रको परिचय
अमेरिका सरकारको सहयोगमा वि.सं. २०२० साल मंसिर २० गते स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्रमा हाल १४६ वटा उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन्।
कुल तीन हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको यस औद्योगिक क्षेत्रभित्र खाद्य उद्योग, युनाइटेड ब्रुअरी, गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग लगायतका प्रमुख उद्योगहरू सञ्चालनमा छन्।
यस औद्योगिक क्षेत्रमा सरकारी स्वामित्वका हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड पनि सञ्चालनमा छन्।
कुल जग्गा क्षेत्रफलमध्ये हाल दुई हजार १७८ रोपनी जग्गा उद्योगहरूलाई भाडामा दिइएको छ, जबकि २६.५२ रोपनी खाली जमिन छ। सडक सञ्जाल, विद्युतीकरण, ढल निकास लगायतका युटिलिटी सेवाले ५९७ रोपनी क्षेत्रफल ओगटेको छ। औद्योगिक क्षेत्रभित्र कार्यालयद्वारा निर्मित १० वटा औद्योगिक भवन, ११ वटा गोदाम र ३४ वटा अन्य भवन रहेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योग–प्रतिष्ठानका भवन, गोदाम, क्वार्टर र जग्गाबाट पनि बहाल संकलन गर्दै आएको छ।















