Logo

९ जेठ, काठमाडौं । संखुवासभामा एक बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया एक बालिकाको शव दाहसंस्कार गर्ने तयारी भइरहेका बेला प्रहरीले शवसहित अभिभावकलाई समेत नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले गोपाल तामाङकी छोरी युनिकाको शव विहीबार नियन्त्रणमा लिएर जिल्ला अस्पतालको शवगृहमा राखेको छ ।

गत वैशाख ३० गते गोपाल तामाङ र उनकी भाइबुहारी कल्पनाबीच घरायसी विवादमा झगडा भएको थियो । सो क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलेर लडाएको आरोप छ । लडेर घाइते भएकी युनिकाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा जेठ ७ गते मृत्यु भएको थियो ।

उनको शव दाहसंस्कारको लागि नोबेल अस्पतालबाट घर ल्याउँदै गर्दा विहीबार प्रहरीले नियन्त्रणमा लिएर शवलाई जिल्ला अस्पतालमा राखेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी इन्सपेक्टर अभिषेक श्रेष्ठले जानकारी दिएका छन् । प्रहरीका अनुसार घटनाको अनुसन्धानका लागि युनिकाका बुवा गोपाल र भाइबुहारी कल्पनालाई नियन्त्रणमा लिइएको छ ।


सम्बन्धित समाचार
भर्खरै