९ जेठ, काठमाडौं । भारतको तीन दशकभन्दा लामो माओवादी विद्रोहले एउटा निर्णायक मोड लिएको छ। भारतीय सुरक्षाबलले छत्तीसगढ राज्यको घना जंगलमा भएको सैन्य अपरेसनमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नम्बाला केशव राव उर्फ वसवराजु मारिएको पुष्टि भएको छ ।
वसवराजूको निधनले माओवादी आन्दोलनको नेतृत्व तहमै गहिरो चोट पुगेको छ। भारतीय गृहमन्त्री अमित शाहले यसलाई ‘इतिहासमै पहिलो पटक महासचिव तहका नेता मारिएको’ उल्लेख गर्दै ‘नक्सलवाद उन्मूलनको लडाइँमा ऐतिहासिक उपलब्धि’ भनेका छन्।
माओवादी आन्दोलनको उदय
भारतमा माओवादी आन्दोलनको शुरुवात १९६७ मा पश्चिम बंगालको नक्सलबारी गाउँबाट भएको थियो, जहाँ स्थानीय किसान र मजदुरले जमिन्दारविरुद्ध हातहतियार उठाएका थिए। यही आन्दोलनबाट “नक्सलवादी” शब्दको उत्पत्ति भयो।
कालान्तरमा यो आन्दोलनले मध्य र पूर्वी भारतका आदिवासी बहुल क्षेत्रहरूमा व्यापक प्रभाव जमायो। उनीहरूले आफूलाई गरीब, उत्पीडित र राज्यबाट बेवास्ता गरिएका वर्गको प्रतिनिधि दाबी गर्दै आएको इतिहास छ।
वसवराजु, एक रणनीतिक मस्तिष्क
भारतको विद्रोही गतिविधिमा वसवराजुको नाम सँगसँगै आएको छ । आन्ध्र प्रदेशमा जन्मेका राव इन्जिनियरिङ पढ्दै गर्दा माओवादी आन्दोलनमा होमिएका थिए। सन् २०१८ मा पार्टी महासचिव नियुक्त भएका उनले आधुनिक हतियार, रणनीति र संरचनासहित माओवादी लडाकूहरूलाई पुनःसङ्गठित गरे। सुरक्षा अधिकारीहरूका अनुसार उनले योजना बनाएको चिलतानार एम्बुस २०१० मा मात्र ७६ जना सुरक्षाकर्मी मारिएका थिए।
उनले आफूलाई जंगलमा तीन तहका सशस्त्र सुरक्षा घेराले सुरक्षित राखेका थिए, र छापामार युद्ध, बारुद, विस्फोटक र सशस्त्र तालिममा दक्ष मानिन्थे। भारतीय सरकारले उनको टाउकोमा एक करोड भारु इनाम राखेको थियो, जुन माओवादी विद्रोहको प्रभाव र उनीप्रतिको चिन्ताको सूचक हो।
रणनीतिक रूपमा निर्णायक क्षण
नारायणपुर, बिजापुर र दन्तेवाडा जिल्लाको संगमस्थल बोटेर गाउँको जंगलमा भएको भिडन्तमा वसवराजुसहित २७ जना माओवादी मारिएका थिए। यो क्षेत्र ‘रेड करिडोर’ को हिस्सा हो, जहाँ माओवादीको प्रभाव सबभन्दा सशक्त छ। भारतीय सुरक्षाबलले पछिल्ला महिनाहरूमा डिआरजी (जिल्ला रिजर्भ गार्ड) र आत्मसमर्पण गरेका पूर्वमाओवादी सदस्यहरूसँग मिलेर संयुक्त अपरेसनहरू तीव्र बनाएको छ।
यो वर्ष मात्रै करिब २०० माओवादी लडाकूहरू मारिइसकेका छन्, जसले सरकारको आक्रामक सैन्य अभियानको सफलता देखाउँछ।
सरकारको दोहोरो रणनीति
भारत सरकारले केवल सैन्य समाधानमा मात्रै भर नगरी माओवादी प्रभावित क्षेत्रमा पूर्वाधार विस्तार, विशेषगरी सडक र संचार माध्यमको विकास, शिविर निर्माण, तथा सामाजिक सेवा प्रवाहका कार्यक्रमहरू पनि अघि सारेको छ। यो रणनीति विद्रोहको सामाजिक आधार कमजोर पार्ने दिशामा लक्षित छ।
वसवराजुको मृत्यु केवल एक व्यक्तिको अन्त्य होइन, बरु भारतको माओवादी विद्रोहको एउटा प्रमुख अध्यायको समापन हो। तर, यसले आन्दोलन पूर्णतः समाप्त भएको हो भन्ने ग्यारेन्टी भने छैन। राज्यको रणनीति, सामाजिक न्याय र समावेशी विकासमा निर्भर रहनेछ कि यो लडाइँ कति दीर्घकालीन समाधानमा पुग्छ।
🔥 प्रमुख माओवादी आक्रमणहरू
दंतेवाडा हमला
सन २०१० को अप्रिल ६ मा चत्तीसगढको दंतेवाडामा माओवादीले सशस्त्र सीमा बल ९ऋच्एँ० को टोलीमाथि एम्बुसमा परेर ७६ जना सुरक्षाकर्मी मारिएका थिए । यसलाई माओवादी आन्दोलनको उत्कृष्ट हमला भनेको थियो । उक्त हमलाको योजनाकार महासचिव बसवराजु नै थिए ।
झारखण्ड रेल आक्रमण
सन २००६ मा झारखण्डमा माओवादीले रेलवे ट्र्याकमा विस्फोट गराउँदा यात्रुबाहक ट्रेन दुर्घटनामा परेको थियो, जसमा दर्जनौँको सर्वसाधारणको मृत्यु भएको थियो । सुरक्षाकर्मी भएको आरोपमा माओवादीले रेलवेमा आक्रमण गरेको थियो ।
झीरमघाटी हमला
सन २०१३ मे २५ मा झीरमघाटी, बस्तर, छत्तीसगढमा कांग्रेस पार्टीको पदयात्रा (परिवर्तन यात्रा) लक्षित हमलामा २५ जना मारिए, जसमा छत्तीसगढ कांग्रेसका शीर्ष नेताहरू वीसी शुक्ला, नंदकुमार पटेल लगायत परेका थिए ।
गढचिरोली हमला
सन २०१९ मे १ मा महाराष्ट्रको गढचिरोली भन्ने ठाउँमा माओवादीले सडक निर्माणमा प्रयोग भइरहेको ३० भन्दा बढी गाडी जलाए। त्यसको केही समयअघि सुरक्षाबलको गाडीमाथि आइईडी आक्रमणमा परि १५ सुरक्षाकर्मी र १ चालक मारिएका थिए ।
बीजापुर हमला
सन २०२१ को अप्रिल ३ मा बीजापुर, सुकमा सीमा क्षेत्र, छत्तीसगढमा सुरक्षाबल र माओवादीबीच भिडन्त हुँदा २२ सुरक्षाकर्मी मारिए, ३० भन्दा बढी घाइते।
माओवादी विद्रोह भारतका धेरै राज्यहरू विशेष गरी छत्तीसगढ, झारखण्ड, ओडिशा, आन्ध्र प्रदेश, महाराष्ट्र र बिहार मा प्रभावशाली रहँदै आएको छ। यद्यपि पछिल्ला वर्षहरूमा सरकारको सैन्य र विकासात्मक अभियानका कारण माओवादी विद्रोह केही मत्थर हुदै आएको छ। महासचिव वसवराजुको मृत्यु माओवादी आन्दोलनका लागि गम्भीर झट्का हो, तर संगठनको पुनर्संरचना र रणनीति परिवर्तनका साथ पुनः सक्रिय हुने सम्भावना पनि रहन्छ।














