९ जेठ,वीरगञ्ज । बारा प्रहरीले झण्डै ५४ लाख रुपैयाँ मूल्य बराबरका अवैध सामानसहितको एउटा ट्रक नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक राजन सिवाकोटीको कमाण्डमा खटिएको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरस्थित इलाका प्रहरी कार्यालय अगाडिको चेकपोइन्टमा उक्त ट्रक नियन्त्रणमा लिएको हो।
वीरगञ्जबाट रुपन्देही जाँदै गरेको ना–५ ख ६७४७ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा सो सामान फेला परेको प्रहरीले जनाएको छ। चेकजाँचका क्रममा ट्रकमा लोड गरिएका सामानको बिल शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता खेम प्रसाद नेपालका अनुसार, बरामद गरिएका सामग्रीमा ५४ लाख ३५ हजार २ सय ७८ रुपैयाँ बराबरको कपडा, लङ (ज्वारो), धागो, चप्पल लगायतका खुद्रा सामग्रीहरू रहेका छन्।
पक्राउ परेका सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

















