Logo

१० जेठ, वीरगञ्ज । मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ईञ्जिनियर बसन्त कुशवाहाको प्रमुख आतिथ्यमा वीरगञ्जको भिस्वा होटलमा ‘घुमौ मधेश बुझौं मधेश’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा मधेश प्रदेशमा पर्यटन विकास र लगानी प्रवर्द्धनका विविध पक्षमाथि छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री कुशवाहाले यस वर्षको बजेटमा १ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको र त्यसका लागि सबै गतिविधिहरू समेटिने बताए। उनले मधेश प्रदेशमा लगानीका लागि कृषि, उद्योग र पर्यटन मुख्य क्षेत्र रहेको औंल्याउँदै कृषकहरूलाई पनि बिस्तारै पर्यटनतर्फ आकर्षित गर्ने योजना रहेको जानकारी दिए।

मन्त्री कुशवाहाले मधेश प्रदेशमा पर्यटक आकर्षित गर्नका लागि पर्याप्त स्थानहरूको अभाव रहेको स्वीकार गर्दै नयाँ तरिकाले खेलकुदका गतिविधिहरू सञ्चालन गर्न र यहाँका ठाउँहरूलाई चिनाउने काममा जोड दिनुपर्ने बताए। ‘आखिरमा बाहिरका मान्छे मधेश प्रदेशमा किन आउँछन् ? घुम्नका लागि मधेश प्रदेशमा के विशेषता छ त्यसमाथि काम गर्नु पर्छ,’ उनले भने।

कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा ‘घुमौ मधेस बुझौं मधेस’ मधेश प्रदेश संयोजक विकास ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा होटल संघका केन्द्रीय सचिव एवं होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा मधेस विश्व विद्यालयका उपकूलपति प्राध्यापक डा.दीपक शाक्य, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी बलका उपरीक्षक राधेश्याम धिमाल, होटल संघ नेपाल मधेश प्रदेशका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहान, सहसचिव अजय चौरसिया, सन्तोष कुशवाहा, अभिलाष गुप्ता, अर्जुन चौधरी, जगत राई लगायतका पत्रकार तथा होटल व्यवसायीहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो।


सम्बन्धित समाचार