११ जेठ, काठमाडौँ । युक्रेनका विभिन्न क्षेत्रमा रुसले गरेको भीषण हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन्। बीबीसीका अनुसार, राजधानी कीएभसहित देशका विभिन्न भागमा रुसले २५० ड्रोन र १४ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ।
आक्रमणका कारण थुप्रै आवासीय भवनमा आगलागी भएको छ, जसले सर्वसाधारणमा थप त्रास फैलाएको छ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रतिक्रिया दिँदै भने, “यस्ता निरन्तर आक्रमणहरूसँगै रुस नै यो युद्ध लम्ब्याउने प्रमुख कारण हो भन्ने कुरा विश्वसमक्ष झन् स्पष्ट बन्दै गएको छ।”
रुसको यस्तो आक्रमणलाई युक्रेनी जनतामाथिको मानवअधिकार उल्लंघनको संज्ञा दिँदै जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायसँग कडा कदम चाल्न अपिल गरेका छन्।














