११ जेठ, काठमाडौँ । संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन्। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नभएको उनीहरूको भनाइ छ।
कर्मचारीहरूले सेवा अवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्नका लागि ७ वर्षको सट्टा ५ वर्षको अवधि राख्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एकपटक समायोजनका लागि छनौटको अवसर दिनुपर्ने जस्ता मागहरू राखेका छन्।
यसका साथै, स्थानीय र प्रदेशमा रहेका कर्मचारीहरूका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने र तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग पनि उनीहरूको छ। नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवालले विधेयकले कर्मचारीको मनोबल घटाउने काम गर्ने बताएका छन्।
कर्मचारीहरूले सरकार र संसदीय समिति आफ्ना माग मुद्दामा गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।















