११ जेठ,काठमाडौं । भारतीय नक्कली नोट कारोबारमा पटकपटक जेल सजाय भुक्तान गरेका बाराका युनुस अन्सारी नख्खु कारागारबाट रिहा भएलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धानको फन्दामा परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शनिबार कारागारबाट छुट्नेबित्तिकै अन्सारीलाई नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीले अन्सारीलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको पुष्टि गरेका छन्। उनलाई आइतबार अदालतमा उपस्थित गराइने तयारी रहेको बुझिएको छ।
अन्सारी रिहा हुने जानकारी पाएपछि सीआईबीले गत बुधबार नै कारागार व्यवस्थापन विभागलाई अनुसन्धानका लागि उनलाई उपलब्ध गराइदिन पत्राचार गरेको थियो। सोही पत्रका आधारमा कारागारबाट छुट्ने बित्तिकै सीआईबीले उनलाई आफ्नो नियन्त्रणमा लिएको हो।
युनुस अन्सारीको आपराधिक पृष्ठभूमि लामो छ। उनी पहिलो पटक २०६६ पुस १३ गते २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए। त्यसपछि २०६७ माघ १७ गते कारागार चलान भएका उनी त्यतिबेला नेसनल टेलिभिजनका अध्यक्ष थिए। २०६७ असोज ६ गते पुनः ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि अन्सारीको नाम जोडिएको थियो। करिब पाँच वर्ष कैद भुक्तान गरेर उनी २०७० असोज १८ गते छुटेका थिए।
तेस्रोपटक २०७० माघ १० गते पुनः ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारीले त्यसबेला पनि सजाय भुक्तान गरी छुटेका थिए। पछिल्लो पटक २०७६ जेठ १० गते ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि अदालतले उनलाई दोषी ठहर गर्दै ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो। उनले सोही कैद सजाय शनिबार भुक्तान गरेका हुन्।
प्रहरीका अनुसार, अन्सारीलाई हिरासतबाहिर राख्दा ’सुरक्षा चुनौती’ देखिएकाले अनुसन्धानका लागि हिरासतमै लिनुपर्ने अवस्था आएको हो। अन्सारी भारतीय आपराधिक गिरोहको निसानामा पर्दै आएका छन्। केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका बेलासमेत अन्सारीमाथि भारतीय सुटर मनमित सिंह भनिने मनमित भाटियाले २०६७ फागुन २६ गते गोली हानी हत्या प्रयास गरेका थिए।














