Logo

११ जेठ,वीरगञ्ज । करिब एक महिनाअघि आएको हावाहुरी र असिनापानीले कृषि बालीमा व्यापक क्षति पुगेपछि बाराको सिम्रौनगढ नगरपालिकाका पीडित किसानहरू क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। स्थानीय सरकारले क्षतिपूर्तिमा चासो नदिएको भन्दै आइतबारदेखि किसानहरू आन्दोलित भएका हुन्।

आइतबार पीडित किसानहरूले सिम्रौनगढ नगरपालिकाको कार्यालयका दुवै प्रवेशद्वारमा तालाबन्दी गरी धर्नामा बसेका छन्। तालाबन्दी गर्ने क्रममा प्रहरीले हस्तक्षेपसमेत गरेको थियो।

किसान संघर्ष समितिका सदस्य तथा पीडित किसान राम प्रवेश कुशवाहाले क्षतिपूर्तिका लागि नगरपालिकाको कार्यालयमा पटकपटक धाउँदा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताए।

गत वैशाख १४ गते साँझ आएको हावाहुरी र असिनापानीले वडा नम्बर १, २, ३, ६ र ७ मा करिब ९४ बिघा खेतमा लगाइएको तरकारी बाली, मकै, धानलगायतका बाली नष्ट भएको थियो। यसबाट त्यस क्षेत्रका करिब ६ सय जना किसानहरू मर्कामा परेको संघर्ष समितिका सदस्य कुशवाहाले जानकारी दिए।

उनका अनुसार, हावाहुरी र असिनापानीले बालीमा नोक्सानी पु¥याएको भोलिपल्टै बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहितको टोलीले किसानको खेतमा पुगेर क्षतिको अवलोकन गरेका थिए। उनकै आग्रहमा पीडित किसानहरूले क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिका लागि नगरपालिकाको कार्यालयमा बुझाएका थिए।

त्यसपछि पनि मेयर किशोरी प्रसाद कलवारले पीडित किसानहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन कुनै चासो नदेखाएको र नगरपालिकामा पटकपटक पुगेका पीडित किसानहरूलाई बहाना बनाएर टर्दै आएको संघर्ष समितिका सदस्य कुशवाहाले आरोप लगाए।

आफूहरूले हावाहुरी र असिनापानीले पु¥याएको क्षतिको बालीको लागत खर्च मात्र माग गरेको कुशवाहाले बताए। “हामीले बाली लगाउँदा भएको खनजोत, बीउ, मल र सिँचाइमा लागेको खर्चमात्रै मागेका छौं। प्रति कट्ठा ८ हजार रुपैयाँका दरले क्षतिपूर्ति चाहियो भनेका छौं। तैपनि स्थानीय सरकारले हाम्रो माग सुनेको छैन। अनि बाध्य भएर आज नगरपालिकामा तालाबन्दी गरेर धर्ना बसेका हौं,“ उनले भने।

नगरपालिकाले क्षतिपूर्ति उपलब्ध नगराएसम्म आफूहरूको आन्दोलन जारी रहने उनले बताए। “मेयर साब हाम्रो धर्नास्थलमा आउनु पर्यो। हाम्रो माग पूरा गर्ने लिखित प्रतिबद्धता पनि जनाउनु पर्यो। अनिमात्र हाम्रो आन्दोलन रोकिन्छ। नभए हाम्रो आन्दोलन जारी नै रहन्छ,“ कुशवाहाले चेतावनी दिए।


सम्बन्धित समाचार