११ जेठ, काठमाडौं । कर विवरण नबुझाएका हजारौं करदाताको मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता एकसाथ निलम्बन भएको छ ।
कर विवरण नबुझाउने ४८ हजार करदाता निलम्बनमा परेको हो । आन्तरिक राजस्व विभागले वैशाख ११ मा सार्वजनिक सूचना प्रकाशित गरी लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गरेको छ । विभागले १५ दिने अल्टिमेटम समेत दिएको थियो । सूचनामा आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी कारोबार नियमित गर्न भनिएको थियो ।
तर, उक्त अवधिभित्र अधिकांश करदाताले यस्तो विवरण नबुझाएपछि विभागको जेठ ९ को निर्णय अनुसार भ्याट दर्ता निलम्बन गरिएको विभागले जनाएको छ । विभागले यस्ता करदाताको नाम वेबसाइट मार्फत सार्वजनिक समेत गरेको छ ।















