११ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे छलफल गर्न पदाधिकारी बोलाउनुभएको छ ।
सोमबार बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्नेगरी सभापति देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो । बैठकको मुख्य एजेण्डा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएपछि अब के गर्ने भन्नेबारे छलफल गर्ने रहेको बताइएको छ ।
बैठकमा क्रियाशील सदस्यता नवीकरणबारे क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले पाटी पदाधिकारीलाई ब्रिफिङ गर्ने कार्यक्रम रहेको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई कार्यालयमा छापा मारेर नियन्त्रणमा लिएर उनका डिभाइस जफत गरेपछि शङ्काको सुई गृहमन्त्री लेखकसम्म पुगेको छ ।
यसबारे कांग्रेसका नेताहरूबिच लेखकले राजीनामा दिनुपर्ने र दिन नहुने भन्नेमा फरक फरक धारणा बाहिर आइसकेका छन् ।















