Logo

१२ जेठ, पटना । भारतको बिहार राज्यका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालू प्रसाद यादवले आफ्ना जेठा छोरा तेज प्रताप यादवलाई पार्टीबाट ६ वर्षका लागि निष्कासन गरेका छन् ।

लालू यादवले आईतबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत सार्वजनिक रूपमा तेज प्रताप अब पार्टी र परिवार दुबैमा कुनै भूमिका नहुने स्पष्ट घोषणा गरेका हुन् ।

उनले तेज प्रतापको सार्वजनिक व्यवहार, गैरजिम्मेवार क्रियाकलाप र व्यक्तिगत जीवनमा देखिएको अनैतिकता पारिवारिक मूल्य, परम्परा र आरजेडीको सामाजिक न्यायको आन्दोलनसँग मेल नखाने बताउँदै यस्तो कठोर निर्णय लिनुपरेको उल्लेख गरेका छन् ।

लालू यादवले पोस्टमार्फत लेखेका छन्, “निजी जीवनमा जब नैतिक मूल्यहरू बेवास्ता गरिन्छ, तब हाम्रो सामाजिक न्यायका लागि गरिएको सामूहिक संघर्ष कमजोर हुन्छ ।”

यसअघि तेज प्रतापको फेसबुक अकाउन्टबाट गरिएको एक विवादास्पद पोस्टले पार्टीलाई अप्ठ्यारोमा पारेको थियो । विपक्षीहरूले सो पोस्टलाई लिएर आरजेडीलाई कडा आलोचना गरेका थिए । पछि तेज प्रतापले ‘एक्स’ मा पोस्ट गर्दै आफ्नो सामाजिक सञ्जाल ह्याक भएको दाबी गरेका थिए । साथै, आफूसँग जोडिएका तस्वीरहरू ‘गलत तरिकाले सम्पादन’ गरिएको आरोपसमेत लगाएका थिए ।

पार्टीबाट भाइलाई निष्कासित गरिएकोबारे प्रतिक्रिया दिँदै आरजेडी नेता तथा लालू यादवका कान्छा छोरा तेजस्वी यादवले पत्रकारहरूसँग कुरा गर्दै, “यी व्यवहारहरू अब सहन सकिने अवस्थामा छैनन्,” भन्दै स्पष्ट असन्तुष्टि जनाए ।

आरजेडी भित्रको यस घटनाले पार्टीभित्रको पारिवारिक तथा आन्तरिक सम्बन्धमा तनाव देखाएको विश्लेषण राजनीतिक वृत्तमा सुरु भइसकेको छ ।


सम्बन्धित समाचार