Logo

१२ जेठ,काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको छ। आज बिहान बसेको पदाधिकारी बैठकले मन्त्री लेखक यस अनियमिततामा संलग्न नभएको ठहर गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं। जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ।’

प्रवक्ता डा. महतले यस्ता अफवाहको शिकार कांग्रेसकै नेताहरू समेत भएको बताए। बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त प्रकरणको सविस्तार व्याख्या गर्दै आफू कुनै पनि संलग्नता नरहेको प्रष्ट पारेका थिए।

लेखकको भनाइलाई पार्टीले पूर्णरूपमा विश्वास गरेको भन्दै महतले भिजिट भिसामा संलग्नमाथि निष्पक्ष छानबिन गरेर कारबाही हुनुपर्नेमा जोड दिएका छन्। यो निष्कर्षसँगै गृहमन्त्री लेखकमाथि लागेका आरोपबाट कांग्रेसले उनलाई बचाउ गरेको देखिन्छ। यद्यपि, प्रकरणको पूर्ण र निष्पक्ष छानबिनको माग भने कायम राखिएको छ।

 


सम्बन्धित समाचार